परिचय

हाम्रो बारेमा

जनकपुर भन्सार कार्यालयको स्थापना वि.सं. २०५० सालमा जनकपुर उमनपा १ स्थित रेल्वे स्टेशन नजिक भएको हो । यस भन्सार कार्यालय अन्तर्गत लग्मा-जटही, ईनर्वा, भडरिया, खजुरी-महुवा, खजुरी-स्टेशन, महिनाथपुर, वैदेही, कठाल गरी ८ वटा छोटी भन्सार कार्यालयहरु रहेकोमा हाल ३ वटा (लग्मा-जटही, ईनर्वा, भडरिया) छोटी भन्सार कार्यालयहरु मात्र संचालनमा रहेका छन् । भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म रेल्वे सेवा संचालनसंगै ईनर्वा छोटी भन्सार कार्यालयलाई स्तरोन्नती गरी मूल भन्सार बनाउने प्रस्तावित रहेको छ । हाल मूल भन्सार कार्यालयको काम लग्मा-जटही छोटी भन्सार कार्यालयबाट संचालन हुँदै आएको छ ।

सामाजिक सुरक्षा, राजश्व संकलन, व्यापार सहजीकरण एवं मालवस्तुको अवैध निकासी पैठारी नियन्त्रण गर्ने उद्देश्यका साथ स्थापित यस भन्सार कार्यालयको जनकपुर मूल कार्यालयमा प्रशासनिक र मुद्दा सम्बन्धी कार्यहरु हुन्छ भने लग्मा-जटही छोटी भन्सार कार्यालयबाट मालवस्तुको जाँचपास, सवारी साधनको सुविधा तथा अस्थायी पैठारी लगायतका सेवा प्रवाह हुँदै आईरहेको छ ।

यस भन्सार कार्यालयबाट मुख्य रुपमा तयारी कपडा, मोटर पार्टस, हार्डवेयर, किटनाशक, स्टेशनरी, ढोकाको तयारी पल्ला, बाद्य यन्त्र लगायतका मालवस्तु आयात हुने गरेको छ, निकासी केही पनि हुने गरेको छैन ।

यस जिल्लामा नेपाल-भारत सिमाको लम्बाई करिब ५० कि.मी. रहेको छ । भारत तर्फ सबैभन्दा ठुलो बजार तथा रेल्वेको पहुँच समेत भएको बजार जयनगर रहेको छ ।

जनकपुर भन्सार कार्यालय र महोत्तरीको जलेश्वर भन्सार कार्यालय बीचको दुरी १८ कि.मी. रहेको छ। महोत्तरीको जलेश्वर भन्सार र धनुषाको जनकपुर भन्सार कार्यालयको नेपाल तर्फको मुख्य बजार जनकपुरधाम नै रहेको छ । दुबै भन्सार कार्यालयलाई जनकपुरधामसम्म ४ लेनको पक्की सडकद्वारा जोडिएको छ।